वनमान्छेको दर्दनाक कथा : मुन्शी प्रेम चन्द
नेपाली अनुवाद : योगप्रसाद उपाध्याय चापागाईं, हाल काठमाण्डौं
आज हामी वनमान्छेको कथा सुन्ने छौँ । अगाडिका तस्विरबाट थाहा हुन्छ वनमान्छे न त पूर्ण बाँदर हो न त पूर्ण मानिस हो । ऊ मानिस र बाँदर बिचको प्राणी हो । तर ऊ धेरै बलियो हुन्छ र मानिसहरूलाई सजिलै मार्न सक्छ। यो प्रायः अफ्रिकाको जङ्गलमा पाइन्छ।
एक दिन एक शिकारी अफ्रिकाको एउटा क्लबमा बसेर पत्रिका पढ्दै थिए, डराइरहेका उनका एक साथी कोठामा आएर भने- धेरै टाडाबाट एक हबशी आएको छ र ऊ भन्दै छ नजिकैको जङ्गलमा एउटा नर वनमान्छे आएको छ, जसले मान्छेलाई मारि रहेको छ । शिकारीले हब्शीलाई बोलाएर सोधपुछ गरे पछि थाहा भयो, उबंशी जातका एक व्यक्तिले वनमान्छेको जोडीसाथीलाई मार्यो । सायद यहि भएर उसले मान्छेलाई मारेको होला । हब्शीले भन्यो- सा'ब, यस्तो मोटो वनमान्छे कतै देखेको थिएन । ठूला सिपाहीहरूलाई पनि मार्छ । आश्चर्यको कुरा के भने त्यसले एउटै जातका मान्छेलाई छनिछानि मार्छ । अहिलेसम्म झण्डै दशजना उबंसीको ज्यान गइसकेको छ । शिकारी सिंहको शिकार गर्न आएको थियो तर उसले सोच्यो– यो वनमान्छे सिंहभन्दा खतरनाक रछ । यसलाई पहिले किन नमार्नु ?"
भोलिपल्ट, उसले झिसमिसे बिहानै शिकारको राम्रो तैयारी गर्यो र हब्शी लिएर जंगल तिर लाग्यो । धेरै सैनिकहरू पनि थिए । तिनीहरू पनि बन्दुक लिएर जान राजी भए । हब्सी बाटो देखाउँदै अगाडि बढ्न थाल्यो ।
दिनभरि हिँडेर उबंशी गाउँ पुगे । बाटामा धेरै जनावरहरू भेटिए, तर कतै वनमान्छेको निशान देखेनन् । अफ्रिकाका सबै गाउँहरू एकै प्रकारका भनेजस्ता हुन्छन् । गाउँको बिचमा बाँसले घेरिएको उबंशीका मुख्यको झोपडी थियो । एउटा ठुलो कदको मानिस काँधमा बन्दुक लिएर झोपडीको अगाडि हिँडिरहेको थियो ।
शिकारीहरूको खबर पाएर उबंशी सरदार उनीहरूलाई भेट्न आयो र फौजि सलाम गर्दै भन्यो- तिमीहरू धेरै जना आएका छौ, मलाई विश्वास छ अब वनमान्छे अवश्य मारिनेछ । हामीलाई घरबाहिर निस्कनै गाह्रो भैरहेको थियो । शिकारीले खुशीका मुद्रामा भन्यो- हेरौं के हुन्छ, आएका त यही नियतले नै हो ।
शिकारीहरूले आफ्नो अस्थायी सामानहरू प्रधानको झोपडीमा राखे र पेटका देवता बुझाउने चिन्ता गर्न थालेका के थिए एक्कासी कोही मरेको झैं कोही कराएको आवाज आयो । शिकारीले सोधे- को रोइरहेको छ ?
हब्सीले अचम्मित स्वरमा भन्यो- सर, यो त्यही वनमान्छे हो । दिनभरि आफ्नो मृत जोडीको छेउमा बसेर रोइरहन्छ र रात परेपछि यता उता घुम्न थाल्छ । थाहै हुँदैन कतिबेला ऊ गाउँमा पस्छ र मान्छे मार्छ । ऊ कुनै जातिसँग बोल्दैन ।
उनिहरू दिनभरिका थकित थिए, भोक र तिर्खाले ग्रस्त थिए । वनमान्छेको शिकार कसलाई थाहा थियो र ? जब मानिसहरु खान पिन गरे तब वनमान्छेको शिकार कसरी गर्ने भन्ने सल्लाह भयो । उबंशी सरदारले भन्यो– राति भेट्न सकिँदैन । दिउँसो नै त्यसको शिकार गर्नु पर्छ । शिकारीहरू उस्को सल्लाहमा सहमत भए । बाहिर पहराको व्यवस्था गरे र एकेक घण्टामा बदलिने भनेर सबैजना आ-आफ्नो विश्राम तिर प्रवेश गरे । शिकारी थाकेको थियो र चाँडै सुत्यो । केही बेर सुते पछि उसको निद्रा टुट्यो, उसको अगाडि एउटा छाया उभिएको देखियो । त्यस्का आँखा आगो जस्तै देखिएका थिए । शिकारीले तुरुन्तै 'संत्रीलाई बोलाए ।
तर जवाफ आएन । त्यो आवाज संत्रीको कानमा पुग्यो की पुगेन उनले थाहा पाएनन् ।
उसले बिजुली बत्ती बाल्यो । उस्को मुटु भित्रपसे जस्तो लाग्यो । अगाडि छ फिट अग्लो वनमान्छे उभिएको थियो, र त्यसको हातमा सेन्ट्रीको बन्दुक थियो, जसको नली बाङ्गो भएको थियो । उसले शिकारीलाई हेरिरहेको थियो; मार्ने कि छाड्ने भन्ने सोच्न मग्न मन जस्तो । त्यसको डरलाग्दो अनुहार देखेर शिकारीको होस उढ्यो, मुखबाट शब्द पनि निस्किन सकेन ।
एक्कासी बाहिर केही झरे जस्तो आवाज आयो । सायद कोही सेन्ट्री अँध्यारोमा ठोक्किएर लडेको छ । वनमान्छेले हतार हतार बन्दुक फाल्यो र त्यहाँबाट भाग्यो । शिकारी होसमा आयो । ओछ्यानबाट उठ्यो, बन्दुक लियो, बाहिर निस्केर बिजुलीको लालटेन लिएर वनमान्छे खोज्न थाले । तर त्यो त्यहाँ कहाँ बस्थ्यो ! वनमान्छेको चाल पहरा दिने संत्रीलाई समेत थाहा भएको थिएन ।
शिकारीले सेन्ट्रीलाई सतर्क हुन निर्देशन दिए, तर सुत्ने आँट गरेनन् । बिजुलीको उज्यालोमा गफ गर्दै रात बित्यो । भोलिपल्ट सबैजना शिकार गर्न निस्किए । उनिहरूलाई बिदा गर्न गाउँका मान्छेहरू आए । ठूलो भीड जम्मा भयो । शिकारीहरू झाडीहरूको छेउबाट हिंड्न लागे, जसले गर्दा वनमान्छे आवाज सुनेर भाग्न नसकोस् । हब्सीलाई त्यसको स्त्री मरेको ठाउँ थाहा थियो । सबैजना उस्को पछि लागे । बाटामा एक ठाउँमा सिनो गह्नायो । हब्शी डरले काँप्नथाल्यो र चालमारेर सुन्न थाल्यो । त्यहाँ रोएको सुनियो । शिकारीले साथीहरूलाई भन्यो- बन्दुक तयार राख, म अगाडि बढ्छु । तर दुई सय पाइला नपुग्दा नै उसले त्यो जंगली मान्छेलाई देख्यो । तर त्यो एक्लै थिएन । त्यस्को स्त्रीको लाश पनि त्यहीँ थियो । लाशमा निहुरिएर दुवै हातले छाती पिटेर वनमान्छे रोइरहेको थियो । त्यस्को अनुहारमा त्यस्ले आफ्नी स्त्रीलाई फेरि एकपटक उठ्न भनिरहेको जस्तो देखिन्थ्यो, यो देश छोडेर यस्तो अर्को एउटा देशमा बसौं जहाँका मान्छेहरु त्यति निर्दयी, कठोर छैनन् । जब त्यस्ले बुझ्यो कि उस्की स्त्री न बोल्न सकि न त उसलाई सम्झाउँदा पनि हिड्न थालि, तब छाती पिटेर रुन थाल्यो ।
यो अवस्था देखेर शिकारीको मनमा माया पलायो । उसको हातबाट बन्दुक खस्यो, शिकारीको मुटु चिसो भयो । शिकारी आफ्ना साथीहरू लिएर फर्कियो । सबैजना बसेर कुरा गर्न लागे– हेर, जनावरमा पनि कति माया हुन्छ, लाश सडेको छ तर वनमान्छेले अझै छोडेको छैन । उबंशीहरूले यो धेरै नराम्रो काम गरे जसले यस्को स्त्रीलाई मार्यो ।
अहिले त्यस्तै कुराहरू भइरहेको थियो । शिकारीले भन्यो- मैले धेरै मानिसहरू लाश लिएर आउँदै गरेको देखे। शिकारीले त्यो लास चिन्यो । लास त्यहि सेन्ट्रीको थियो । त्यही वनमान्छेले राती मारेको । शिकारी रिसले अन्धो जस्तै भयो, भन्यो- अब म यो दुष्टलाई कुनै हालतमा छोड्ने छैन । मान्छे मार्ने जनावरहरूलाई दया गर्नु पाप हो । आज म त्यसलाई मारेर मात्रै सास फेर्छु ।
यति भन्दै ऊ फेरि त्यही ठाउँमा गयो जहाँ त्यस्की स्त्री साथी वनमान्छे मरेको थियो । तर अहिले वनमान्छे त्यहाँ देखा परेन । त्यसपछि त्यस्को खुट्टाको छाप चिन्ह हेर्दै सबैजना त्यस्को खोजी गर्न लागे । आखिर, पहाडको तलबाट जहाँ पहाडी नदी बग्थ्यो,वनमान्छे देखा पर्यो । त्यस्को शरीरबाट थोपा थोपा पानी बगिरहेको थियो । भर्खर नुहाएर आए जस्तो लाग्थ्यो । शिकारीहरूलाई देखेर पहिले त त्यो गर्ज्यो, त्यसपछि शोकमा परेको मान्छे झैँ छाती पिटेर रुन थाल्यो । सबैजना चुपचाप उभि रहे । शिकारी त्यस्को नजिक गयो, शिकारीले त्यस्को काँधमा ताकेर गोली हाने । ऊ ठूलो स्वरले करायो र भूइँमा ढल्यो । त्यस्को एक काँधमा गोली लागेको थियो; तर त्यसले अर्को हातको सहारा लियो र शिकारी तिर दौडियो । शिकारीले त्यस्को छातीमा गोली हान्यो । सबैले सोचे, त्यो मर्यो; तर त्यो एउटा ढुङ्गामाथिबाट फालहान्यो र दौडिँदै जङ्गल तिर पस्यो ।
साँझ पर्न लागेको थियो । यो सबै बेकार भयो, शिकारीहरू शिविरमा फर्किए । त्यो घाईते भएको थाहा भएपनि उनिहरूले पहराको व्यवस्था गरे र खानापान सकेर सुते । राति सबैजना शान्तिले सुते । शिकारी भर्खरै ब्यूँझिएको थियो, एक निग्रो दौडिएर आयो र भन्यो - महाशय, फेरि रोईरहेको छ । शिकारीले चालमारेर सुन्यो, हो, यो रोएको आवाज हो ।
सबैजना हतार हतार लुगा लगाएर बन्दुक बोकेर निस्किए । त्यो ठाउँमा पुगेर सबै झाडीमुनि दुई वनमान्छेको अन्तिम प्रेम खेल हेर्न लागे—त्यो वनमान्छे रगत बगिरहेको छातीले स्त्रीको लाश थिचेर रोइरहेको थियो । त्यस्का आँखा नशामा भए जस्तै देखिन्थे, रक्सीले मातेको जस्तो थियो । यो पीडादायी अवस्था देखेर शिकारीका पनि आँखा आँसुले भिजे । त्यस्को अवस्था यस्तो थियो कि उसले अब झम्टिन सक्दैन । शिकारी त्यस्को नजिकै गयो । शिकारीलाई सम्भव भए त्यसलाई जिउँदै समातेर पट्टी लगाउनु पर्छ भन्ने लाग्यो । शिकारीलाई देख्ने बित्तिकै वनमान्छेले पीडादायी आँखाले हेर्यो, मानौं ऊ भन्दै छ- छिट्टै एकगोली हानेर यो दुखि संसारबाट बिदा देऊ, किन ढिलो गर्छौ ?
शिकारीले त्यस्तै गर्यो । एउटा गोलीले आफ्नो काम पूरा गर्यो । यता बन्दुकको आवाज आयो, उता वनमान्छे भूँइमा ढल्यो । तर आवाजले शिकारीको मन पनि काँप्यो । 'मैले खुन गरें, म हत्यारा हुँ,' भनेर उसलाई थाहा भयो ।