इस्माइल शेखको खोजीमा : होमेन बोर्गोहाञि (असमिया कथा नेपाली में)

नेपाली अनुवाद : योगप्रसाद उपाध्याय चापागाईं, हाल काठमाण्डौं

सहरको व्यस्त राजमार्गको बिचमा उभिएर सायद स्थान-पात्र र समयको सबै कुरा बिर्सेर वरपरका मानिसहरू चकित हुने गरी शरीरभरीको बल लगाएर कराएँ- 'इस्माईल!'- ​​ बोलाउँदा बोलाउँदै म दौडिन थालेको थिएँ।

सायद जीवनमा भएको सामान्य गल्तीको पनि प्रायश्चित हुँदैन। अदृष्ट भनेको अज्ञात योजनाको अपरिवर्तनीयता हो। यदि मैले इस्माइललाई नामले नबोलाएको भए, म उसलाई भेट्ने थिएँ। मैले लगातार पाँच वर्षदेखि खोजेको मान्छे। तर मेरो आवाज सुनेर इस्माइल एकैछिनमा हरायो । मूर्ख जस्तै, मैले अर्को भयानक गल्ती गरें।

तर मैले इस्माइललाई खोजेर निकाल्नै पर्ने थियो । एक पटक उसलाई देखें भने मबाट भागेर निस्कन सकदैन । मैले टाढाबाट देखेको थिएँ, मेरो आवाज सुनेपछि, उसले मलाई आशंकित नजरले हेर्यो र साँघुरो गल्लीबाट गायब भयो। म दौडिएर त्यो गल्लीको मुखमा पुगेको थिएँ ।

सडक अगाडिको पान पसलमा उभिएर दुईजना युवा चुरोट पिइरहेका थिए । मलाई यस्तो अन्योलमा देखेर उनीहरु एक अर्कासँग कुरा गर्नथाले । उनिहरूको त्यस्तो रहस्यमय व्यवहार देखेर मेरो मनमा अर्कै भाषी देशका अपरिचित मानिसहरूको अगाडि स्वतन्त्र घुमफिरको डर जस्तै एउटा अज्ञात डर पस्यो । म असमन्जसमा परें र हतार-हतार सडक छेउको गल्लीमा प्रवेश गरेँ । एकैछिनमा मेरो पछाडि एउटा अद्भूत हाँसो गुञ्जियो ।

केही पाइला अघि बढे पछि म अचम्म मानेर रोकिएँ । दिउँसोको तीन बजिसकेको थियो तर त्यो गल्ली अन्धकारले ढाकेको थियो । म वरपर हेर्दै वातावरण नियालिरहेको थिएँ, सडकको दुबै छेउमा दुईवटा ठूला भवनहरू ठडिएका थिए । जहाँ भवन समाप्त भएको थियो, त्यहाँ काठको पर्खालले बाटो छेकेको थियो। पर्खालमा ढोकाको जस्तै साँघुरो बाटो थियो । योबाटो सबैका लागी होइन भनेर बुझ्न सकिन्थ्यो । त्यो बाटो भित्री घरहरू मध्ये कुनै एक घरको प्रवेश बाटो थियो । इस्माइल त्यतातिर कहाँ जान सक्छ त, म सोचेंर हैरान भै सकेको थिएँ । मैले उसलाई पछ्याउनु छ । तर सत्य यो थियो कि म त्यो अँध्यारो गल्लीमा जान डराएको थिएँ। म केही बेर त्यही अवस्थामा उभिएँ । अचानक त्यो काठको पर्खाल भित्रबाट एउटी महिलाको हाँसो सुनियो। हाँसो पनि एउटा भाषा हो । त्यसपछि मैले सोचें यसमा कुनै अनौठो कुराहुन सक्छ । केही क्षण मेरो मन भाषाविज्ञानको अनुसन्धानमा डुबेको थियो । बिस्तारै रहस्यको पर्दा उठ्दै थियो । म भित्ता चढेर भित्री गल्लीमा प्रवेश गरें।

"ए कुत्ताका बच्चा !"

भित्र पसेर कसैसँग ठोक्किने अवस्थाको विवरण लिनुअघि यो मिठो बोली सुनियो । नाकमा रक्सीको गन्ध पनि आयो । मैले सास फेरें । र एक कदम पछि हटें। त्यो मान्छेलाई देख्ने बित्तिकै मेरो शरीर हिउँ जसरी चिसो भयो । एकजानाका आँखा पनि राता थिए । अनुहारभरि बिफिरे गोला दागहरू। नाक बिचमा भित्र दबेको थियो र अनुहारलाई झन् डरलाग्दो बनाएको थियो। त्यो व्यक्तिले निलो लुंगी र कालो कोट लगाएको थियो । पेशेवर हत्याराको निर्दयी नजर जस्तै थियो त्यसको नजर । र त्यो मानिसले केही क्षण मेरो अनुहारमा हेरिरह्यो, त्यसपछि खुसीको मुस्कानसंगै मतिर अघि बडन थाल्यो।

“अरे ओ साला, तैंले मलाई चिन्न सकिरहेको छैनस ? तेरो...''

अनुकरणीय अश्लील शब्दमा आफुलाई परिचय दिदै उसले मेरो एउटा हात समात्यो । मेरो शरीर डर र आतंकले काँप्न थाल्यो। मेरो अगाडि कोही मानिस नभएको जस्तो, डरलाग्दो मृत्यु ब्याक्टेरियाले गलेको शव, जसले छुँदा मेरा आँखा अगाडि मेरा हात र खुट्टाहरू टुक्रिएलान । म उसको नजिक पुग्ने बित्तिकै मैले आँखा बन्द गरें र प्रहाररतको इशाराले मेरो हात उठाएँ, अनि ठूलो स्वरले कराएँ, "मलाई नछो, मलाई नछो ।"

त्यो मान्छे आफैंआफमा रोकियो। मैले आँखा खोलेर हेरें, ऊ सामान्यतया अवस्थामा सिथिल भैसकेको थियो । उसको अनुहार दिनहिन भिखारीको भयानक पीडाले भरिएको देखिन्थ्यो । उस्का आँखा आँसुले धमिलोहुन थालेका थिए ।

“अरे साला, तँलाई पनि थाहा हुनथाल्यो ?” उसले टुटेको स्वरमा मलाई सोध्यो ।

"कस्को पत्ता लगेको कुरा गर्दै छौ ?" मैले अज्ञात भावमा सोधें।

''अरे कुत्ताका बच्चा, तेरो...... के तिमीले मेरो विमारी देखि रहेका छैनौ ? ए तिमीलाई पनि यो बीमार सर्छ । भाग, भाग, भाग यहाँबाट । यहाँ सबै बीमारी छन्। सबै सडेका, दुर्गन्धले भरेका । दश साल देखि मेरो कारोवार यिनीहरूसंग चल्दै छ । मलाई सब थाहा छ । यि मानिसहरूले मलाई यो बीमार सारेकाहुन । अब यसले मलाई देखेर ढोका बन्द गर्छे । सालेहरू सब रन्डीहुन् —थू ।''

यो बीचमा मैले भूलेको थिएँ कि म इस्माईलको पीछा गर्दैछु । सायद ऊ धेरै टाढा पुग्यो । म जानका लागी तत्पर भएँ । गोजीबाठ सिगरेट निकालेर सल्काएंँ, सिगरेटको एउटा खिलि उसलाई अघि बडाएर सोधें- ''केहि समय अगि यताबाट लामो दारीपालेको र पायजामा लगाएको कुनै मान्छे गएको देख्यौ ?''

''अरे साला, म हुँदाहुँदै तिमी अर्को मान्छे किन खोज्छौ रे ? यो गलीमा म भन्दा जानकार को छ रे ? तर मलाई पाँच पूरा चाहिन्छ ।

यससँग बडता कुरा गरेर कुनै फैदा छैन, मैले सोचें । त्यसको कुरामा ध्यान दिइनँ र म झट्टै अगाडि बढें । अगाडि बडदा नै सुने अवरुद्ध गलाको हाँसेको आवाज । केवल हाँसो मात्र । अन्धो गलीका यि अद्भुत बासिन्दाका लागी हाँसो लिंगुवा-फ्राँका(एक भाषा जस्तो) थियो ।

अचानक महिलाहरूको समूहबाट हर्षोल्लासको आवाज गुन्जियो। म छक्क परें, घोडाको खुरजस्तै तीन ओटा झुपडीको बीचमा सडक टुङ्गिएको थियो । खुल्ला चोकको बिचमा उभिएर केही महिला बिडी तानिरहेका थिए । त्यसको भावनाविहीन अनुहारमा बाक्लो मेकअप लेप, शरीर वा लुगाबाट निस्केको विकृत गन्ध र अझ सस्तोमा संगमग्रस्त शरीरको मिश्रित गन्ध, ऊ ठिङग उभिएकी थी, चेतनाको साँझमा अंधकारको प्रेतकिर्ण त्यस प्रान्तरमा प्रेत-नारीहरू जस्तै उभिरहेकी थिइ । मैले उनीहरूलाई सोधेँ– “केही अघि यहाँ एउटा मानिस आएको देख्नुभयो ?” मेरो प्रश्न सुनेर उनीहरू एकअर्काको शरीरमा लेपासिए र हाँस्न थाले । मेरो प्रश्न उनीहरूका लागि पूर्ण अर्थहीन जस्तो भयो, मानौं म ढुङ्गे युगको मानिसको भाषामा बोलिरहेको छु । "के इस्माइल यी मध्ये कुनै झुपडीमा लुकेको हुन सक्छ ॽ" मलाई आश्चर्य लाग्यो। मैले विनम्र स्वरमा फेरि सोधेँ, "तिमीले यहाँबाट कुनै मानिस गएको देख्यौ ॽ

रुखो सोरमा एउटी कंकाल जस्तै भएकी महिलाले सोधिन्, "बाबु कस्तो मान्छे हो रे ? कसैलाई भगाएर ल्याएको छ ? ल्याएको हो भने लानदेऊ । महिलाहरूको कमि छैन ।"

उनको अन्तिम वाक्यहरू चार-पाँच महिलाहरूको हाँसोले अस्पष्ट थियो ।

म अलमल्ल परें । इस्माइल यतै आएको मैले स्पष्ट देखेको थिएँ । अगाडिबाट जाने बाटो छैन । यो ठाउँ नै एकमात्र लुक्ने ठाउँ हो। तर यी महिलाहरू कुनै प्रश्नको जवाफ दिन आवश्यक ठान्दैनन् । अब के गर्न सकिन्छ ? सायद अब एउटै उपाय बाँकी छ । घर-घर गएर खोज्नु । अन्ततः त्यही गर्ने निर्णय लिएँ । एउटा छेउबाट खोज्दै अगाडिको घरतिर लागें । मैले जुन घरको कुरागरेको थिएँ त्यसको ढोकाबन्द थियो। त्यसैले त्यो घर भित्र मानिस बसेको हुनसक्ने सम्भावना बढी लाग्यो । मैले ढोका ढकढक्याउने बित्तिकै बाहिर उभिने महिलाहरूले आशंका गरेर कराए ... "ए, भित्र एक जना मानिस छ ।"

म रोकिएँ। अचानक मेरा आँखा ढोकाको क्षिद्रबाट भित्र पसे । त्यसपछि मैले सोचें यो समयमा भित्र बस्ने व्यक्तिलाई उत्पीडन गर्नु अमानवीय कार्य हुनेछ । म अर्को ढोकामा पुगें। ढोका अलिकति खुला थियो । मैले ढोका धकेलेँ। एउटी सुन्दर युवती ऐना अगाडि बसेर मेकअप गर्दै थिइ । मेरो खुट्टाको आवाज सुनेर उसले फर्केर मलाई हेरि । दण्डहीनताका साथ ओठमा लिपस्टिक लगाउँदै उसले आक्रोशका साथ भनि "बस्नुहुन्छ?"

मैले जवाफ दिइन। सन्यासीजस्तै उस्को रूप र अनुहारको उदासीनताले मलाई केही समयको लागि जिज्ञासु बनायो ।

गोलीजस्तै अझै दुईवटा अव्यक्त शब्द आएर कानमा ठोक्किए ।

मेकअप सकेर उठेर आई र मेरो अगाडि उभि । युवती साँच्चै सुन्दर थि। उस्को गर्विलो तर उदासीन अनुहारले उसलाई अझ सुन्दर बनायो। मैले उसको ओठमा केही क्षण हेरेँ, धेरै पुरुषहरूले चुम्बन गरेको ओठ । उसले कति पिपासुले उस्को ओठलाई चुम्बन गरे बिर्सेकी होला तर ती पिचासहरूले किन चुम्बन गर्थे त्यो कसरी बिर्सन सक्छे ? मलाई बस्न मन लागेन र जान खोजें । तपाईंलाई यसरी ढोकामा उभिएको देखेर अरु पनि भाग्नेछन्, उसले शान्त स्वरमा भनि–

''तिमी को हौ ? सन्यासिनी कि वेश्या ?

"मैले तपाईं जस्तो पागल मान्छे कहिल्यै देखेको थिएन । किन सोध्नुहुन्छ यी कुरा ?

"यदि यस्तो अवस्थामा अल्भार्टोको उपन्यास तिमीजस्ति गणिकाको ओछ्यानमा छ र उसको पाठक तिमीबाहेक अरू कोही होइन भन्ने निश्चित छ भने, तिमीसँग दुई पल राम्रो कुराकानी किन नगर्ने ?"

मेरो कुरा सुनेर उनको आँखा खाटमा पर्यो । मोराभियाको उपन्यास "वुमन अफ रोम" ओछ्यानमा थियो। उनको अनुहारमा अनायासै फक्रिएको मुस्कान फूल्यो।

"तपाईं अर्कै को हुनुहुन्छ ।"

''यसको अर्थ?''

"मेरो ठाउँमा आउने मानिसहरूमध्ये, तपाईं यस्तो बोल्ने दोस्रो सज्जन हुनुहुन्छ। यसअघि अर्का एकजना आएका थिए । कलेज पढने एक युवक ।

युवतीले मलाई 'तपाईं' भनेर सम्बोधन गरिन । मेरो नजिकै उनले मानवताको स्पर्श महसुस गरिरहेकी थिन र आफ्नो व्यवसाय बिर्सिसकेकी थिन । मैले पनि उनलाई मानवताको सम्मान दिनु उचित ठानें । सामान्य सम्मानका साथ मैले भनेँ "यदि अनुमति दिनुभयो भने, म तपाईंलाई कुनै दिन केही किताबहरू दिनेछु । हुन्छ दिनुहोस् भन्नुहोस् । नमस्ते।''

केही क्षण युवती छक्क परिन् । म जाँदै गरेको देखेर उनी सचेत भइन् । अचानक उनले भनिन्- “पर्खनुहोस्, पर्खनुहोस्, तपाईं कता जाँदै हुनुहुन्छ ? म एकदमै नयाँ अर्थमा भन्दैछु, बस्नुस् न ।

''किन?''

"तपाईं यो बस्तीमा किन आउनु भयो ?"

मैले इस्माइलको बारेमा अलिकति बताउन उपयुक्त ठानें किनभने बस्तीमा एउटी महिला मात्र भेटाएको थिएँ जसले मलाई यस मामिलामा मद्दत गर्न सक्थिन् ।

"म यहाँ एकजना मानिसको पछि दौडिदै आएको छु । म त्यो मानिसलाई लामो समयदेखि खोज्दै थिएँ - लगभग पाँच वर्ष देखि । ऊ कुनै खास कारणले मबाट भाग्दै छ । आज अचानक उसलाई बाटोमा देखेर मैले उसलाई उस्को नाम लिएर बोलाएँ । मेरो आवाज सुन्ने बित्तिकै ऊ भागेर यो गल्लीमा पस्यो । म पनि उसको पछिपछि दौडिएँ । तर यहाँ आएर मैले आफैलाई हराएँ । त्यो घर पछाडिबाट पर्तिर जान कुनै बाटो छ ?

''छैन।''

"त्यसो भए ऊ यी घरहरू मध्ये एउटामा पसेको हुनुपर्छ । तर उसलाई कसले बस्न दिन्छ ?"

"पैसा दिएर कसले बस्न दिँदैन ? तर ऊ त्यसरी तपाईबाट भाग्नुको कारण के हो ? किन उसलाई यसरी खोज्दै हुनुहुन्छ ?

'यो कुरा धेरै लामो छ । यति लामो कुरा सुनाउन थालें भने, इस्माइल कतै गायब हुन्छ ।

"ऊ अझै भागेको छैन भनेर कसरी भन्न सक्नुहुन्छ?"

"हो, यस्तो हुन सक्छ ।" कुरामा अड्किएर मैले वास्तविक कुरा बिर्सिसकेको थिएँ । यो जे होस्, अब एक पटक तपाईले ख्याल राखिदिनुहोस्। म उसलाई खोज्दै यहाँ आउन सक्छु, उसले सोचेको पनि नहुन सक्छ । बरु बाटोमा समातिने डरले यहाँ कतै लुकेर बसेको हुनसक्छ ?

"तपाईसँग त्यो मान्छे को के सम्बन्ध छ ?"

''केही छैन।''

''शत्रु ?''

''होइन् ।''

मेरो जवाफ सुनेर युवतीले लामो सास तानिन । त्यसपछि उनले आफैलाई भनिन्, "कसलाई थाहा छ यो खोजको अन्त्यमा के छ ?"

युवतीले जसरी यो कुरा गरिन्, म छक्क परें । तुरुन्तै उनलाई सोधें "यसको मतलब के हो? के कुरा गर्दै हुनुहुन्छ?"

"तपाईंको पनि, मेरो पनि । वा मोराभियाको उपन्यास पढ्ने वेश्याको बारेमा तपाइँ उत्सुक हुनुभएन?

" तर म तपाइँको व्यक्तिगत जीवनको बारेमा जिज्ञासु भएर तपाइँलाई दिक्क दिन चाहन्न।"

"म तपाईंको भावना राम्ररी बुझ्न सक्छु । र त्यसैले म तपाईलाई मेरो आफ्नै स्वतन्त्र इच्छाको बारेमा केहि भन्न चाहन्छु। तपाईं त्यो मान्छेलाई पाँच वर्षदेखि खोज्दै हुनुहुन्छ, उसलाई भेट्नुहुनेछ की छैन, मलाई थाहा छैन। एकजना मानिसले मलाई पनि पाँच वर्षदेखि खोज्दै आएका छन् । मैले उनलाई देखेको छु। तर उनले मलाई देखेका छैनन् । मलाई यस्तो अवस्थामा देखे भने सायद उनले मलाई मारिदिन्छन् । मलाई मर्न डर लाग्दैन । तर मलाई यो अवस्थामा देखेर कस्तो डरलाग्दो झट्का उनले पाउलान भन्ने कल्पना गर्दा म डराएर काँप्छु । तपाईं मान्छेको पछि दौडिरहेको हुनुहुन्छ, म मान्छेको अगाडि दौडिरहेकी छु। तपाईं जसलाई खोजिरहनु भएको छ र म जोसँ भा.......तपाईले ध्यान दिनुभएको छ, हैन?

यति समय म उभिएको थिएँ । मलाई बस्न मन लाग्यो । म अगाडि उभिएकी नारी वीरांगना हुन भनूँ कि श्रमको उपार्जनकी भद्रमहिला, जेहोस्, म बस्ने यो कोठो पाठागार हो कि श्रम गर्ने नारीको हो, यि प्रश्नहरू सोच्नु अहिले मलाई सामान्य लाग्यो । त्यसैले हरेक पलमा नदेखेको कुराले दु:खको रूपमा प्रहार गरिरहेको , दुई जीवित प्राणीहरूको बीचमा गहिरो आत्मीयताको महत्त्व बढाउन मेरो मन अहम हुन पुग्यो । म यौटी नारीको अगाडी छु, नारीको जीवन संघर्ष, तिनका आशा, सपना र दुख को कुरा गर्दै छु, जुन संघर्ष, सपना, आशा र दुख, दुवैका लागी एउटै, सबका लागी एउटै, यो पवित्र समयको उपलब्धि, नयाँ विचार मेरो मस्तिष्कमा आउँन लागे । मैले उनिसँग ओछ्यानमा बस्ने इजाजत् लिएँ र सहानुभूतिपूर्वक सोधें "तपाईंलाई खोज्दै आउने उहाँ को ॽ"

"मेरो बुवा।"

म झस्किएँ । धैर्य राखेर फेरि सोधें - "तपाईं मलाई साथी सम्झिएर अफ्नो कथा विस्तारमा सुनाउनुहोस् । साँचो होस् तपाईंका कुराले मेरो मनमा उत्साह जागोस्।

"म तपाईंलाई भन्छु । भान्नुमा मेरो पनि स्वार्थ छ । लामो समय देखि म एकजाना मान्छेको खोजिमा थिएँ । जोसंग म मेरा समश्या भन्न सकुँ । तर नारी-देहको खरीददारका अगाडि के यस्तो कुनै साथी मिल्न सक्थ्यो होला र ? जेहोस्, आज ईश्वरले तपाईंसंग भेटहुने मौका दिए । तपाईं एकछिन बस्नुहोस । म आउँदै छु ।''

पर्दा हटाइन् र युवती भित्र पसिन् । मैले चुरोट सुल्काएँ । केहि समय पछि उनि आईन फरक नौलो पहिरनमा । उनले अनुहारको मेकअप धोएकी थिन्, अनौठो ढंगले केश खुलेका थिए, सेतो सारी र सेतो ब्लाउजमा पहिरन साटिएको थियो । यो समय उनको रूप मा पूर्ण परिवर्तन आएको थियो । मेरा शान्त विनम्र दृष्टिले उनको सम्मान बढाए ।

तपाईंलाई म लामो कथा सुनाउन चाहन्न" - उसले भन्न थालि - "जीवनका घटनाहरू जानेर घट्दैनन्। अरुले वर्णन गर्दा विभिन्न आवेगहरू, कल्पनाहरू र तर्कहरू संयोजन गर्छन् । म त्यो गर्दिन। करिब पाँच वर्षअघि सियालदह स्टेसनमा मेरा बुबाबाट म अलप भएकि थिएँ । हामी त्यहाँ पूर्वी बंगालका शरणार्थीका रूपमा आश्रय लिएका थियौं । आश्रय अस्थायी थियो, किनकि शरणार्थीहरूको लागि भोजनालय खोलेर स्टेशनको त्यो प्लेटफर्ममा कोही पनि बसेका थिएनन् । संस्कृत पण्डित ब्राह्मण मेरा बुबाले पेटको ज्वालामा कसैले खाएर फालेको अन्न खाएको देखें, यो पीडामा बुबालाई त्यहिँ छोडेर यो अन्धकार मार्गमा पाइला टेकेकी थिएँ । एउटै हाममा ब्राह्मणको पूजाघरबाट वेश्याको कोठामा आइपुगें । सोचे, बुबासँग सबै हिसाब चुक्ता गरें । तर त्यस्तो होइन रहेछ । एक दिन बाटोमा हिड्दै गर्दा, मैले देखें, मेरा बुबा श्री अन्नादशरन मुखर्जी दुई वेश्या यात्रुहरू लिएर गुवाहाटी जाने बाटामा रिक्सा चलाउँदै हुनुहुन्थ्यो, जसले जीवनमा उपासनाका योग्य व्यक्ति बिना अरू कसैलाई छुनुहुन्न थियो । त्यसबेला मनमा कति भूकम्प गए त्यसको हिसाप म दिन सक्दिन। मैले हतार-हतार घुम्टो ओढेँ । मेरो छेउबाट बुबा रिक्सा चलाएर जानुभयो । उहाँका आतुर आँखा देखेर मैले बुझें, बुबाका आँखाहरूले जताततै मेरो मात्र खोजी गरिरहेकाछन् । त्यसदिन देखि मलाई डरलाग्न थाल्यो । इज्जतले गीता कण्ठ गरिरहेकी उनकी छोरी आज घृणित कर्म गर्न लागेकी छिन्, छोरी के गर्छिन् भन्ने थाहा पाउनु हुन्छकी भनेर मलाई डर लाग्न थाल्यो । यहाँ लगभग हरेक ग्राहक रिक्सा चढेर आउने गरेकाले डर झन बढेको छ । बिडम्बना, मेरा बुवा अपर्झट यहाँ आउनु पर्यो र मलाई असतर्क अवस्थामा देख्नु भयो भने !

युवती केही क्षण चुपचाप बसिन् । म पनि केही बोल्न सकिन र चुपचाप बसेँ । उनि हल्का मुस्कुराईन् । उनले मलाई तीखा नजरले हेरिन र भनिन् "खुब दया लाग्यो होला, हैन!" मैले कुनै जवाफ दिइन।

युवतीले फेरि भनिन्, "र मैले यो सबै एक जना मानिसलाई भनेकी थिएँ । त्यो कलेजको युवकलाई । उसले के भन्यो थाहा छ ? मेरा बुबा रिक्सा चलाउने र म वेश्या बनेर उसलाई कुनै अप्ठ्यारो परेको छैन, न त उसलाई कुनै समस्याको कारण हो भन्ने लागेको छ । समाजका तल्लो तहका मानिसहरुको मनोवृत्तिमा परिवर्तन आएको छ । आज गाउँको किसान होस वा कारखानाको कामदार, यहि अवस्थाको सिकार भएर रिक्सा चलाउने गरेकाछन् । सहरका हजारौं रिक्सा चालकको विगतको कथा सम्झेर टाउको दुखाउँदैनौं, एउटै रिक्सा चालकको बारेमा किन सोच्नु ! आज पनि ब्राह्मणहरू र माथिल्लो वर्गका मानिसहरु हातले एउटा सिन्को पनि नभाँचि अरुको भरमा बाँचिरहेका छन् । पहिलो चरणमा त्यो श्रम-द्वेषको कारण ज्ञान-साधना थियो। तर पछिल्ला समयमा सबै कुरा ठगीमा परिणत भएकाछन् । पाँच हजार वर्षपछि वर्ण व्यवस्थामा विघटन सुरु भएको छ । यदि ब्राह्मणले पनि पेटको लागि रिक्सा चलाउनु पर्यो भने राम्रो कुरा हो। यस्तो कडा प्रहारले सामाजिक मानसिक स्थितिमा क्रान्ति ल्याउँछ ।

"तिमी जुन भावका साथ बोल्दै छौ, मतलव मेरा बुवालाई रिक्सावाला बनेकोमा कुनै न कुनै हिसाबले तिमी खुसी रहेछौ ।"

म सधैं यो कुरा आफैलाई सम्झाउन चाहन्छु । मैले आफैलाई संयमित बनाउनु पर्छ । नत्र म पागल हुनेछु ।"

अचानक घर भित्र अँध्यारो फैलिएको देखेँ । सायद साँझ परेको होला । युवतीको अनुहार हेर्दा समयको कुनै ध्यान नदिइएको जस्तो लाग्थ्यो । मैले चुरोट सल्काउने उद्देश्यले माचिस बालें । उसका दुवै गालाबाट आँसु बगेको देखिन्थ्यो । मैले माचिसको आगो फुकेर निभाइदिएँ । संसारमा यो अपमानलाई उज्यालोले देखाएर के फाइदा। अन्धकारै ठिक छ ।

युवती क्रमशः भन्दै गइन्, "तपाईं त्यो मान्छेलाई खोज्दै हुनुहुन्छ, म जान्न चाहन्छु । के त्यो मान्छे पनि म जस्तै अभागी हो ? "

अचानक मैले युवतीलाई इस्माइलको कथा विस्तारमा सुनाउने निर्णय गरें । एक युवती जसले आफ्ना बुबालाई रिक्साचालक बन्न मद्दत गर्नको लागि सामाजिक अर्थ पत्ता लगाउन सक्छिन, इस्माइलको कथामा अर्को ऐतिहासिक सत्य पत्ता लाग्ने र यसले आफैलाई कठिन बाटोमा हिँडाइ जारी राख्न प्रेरित गर्नेछ।

"मुस्लिम गुण्डाहरूले हाम्रो जीवन बर्बाद पारेका छन्। यिनै गुण्डाहरूका कारण आज म विद्वान ब्राह्मणकी छोरी भएर पनि वेश्या भएँ। गुण्डाको नाम सुन्दा म किन छक्क नपर्ने ? उसले तपाईंलाई के गर्यो ?"

"मेरो कथा सुन! म इस्माइल खोज्दै छु। तिमी जस्तै उसको घर पनि पहिलेको बंगलामा थियो । मलाई उस्को विगतको इतिहास राम्ररी थाहा छैन । मलाई मात्र थाहा छ ऊ कुनै जग्गाधनीको पासमा बस्ने भूमिहीन थियो । एक दिन अचानक उसले सुन्यो कि सयौं किसानहरू आफ्नो जन्मभूमि छाडेर आसाम जानेछन्, जहाँ लाखौं बिघा जमिन दावीहीन छ । उसंग आफ्नो जन्मभूमिमा निर्वाहका लागि थोरै पनि जग्गा थिएन, ऊ जग्गाधनीको दासत्व स्वीकारेर मृत्युको मुखमा पुगिसकेको थियो । कुनै हिचकिचाहट बिना, इस्माइलले आफूलाई पनि त्यो देशभक्त भाग्य-बताउने टोलीमा समावेश गर्यो ।

युवतीको अनुहार हेरेर मैले कथालाई फेरि अगाडि बढाएँ, “तपाईं आफैंले आफ्नो मातृभूमि छोड्नु परेको छ । जुन जमिनसँग गहिरो सम्बन्ध थियो, जन्मभूमिलाई छोडदा तपाईंलाई कस्तो लागेको थियो ? इस्माइलका छोराछोरीलाई त्यस्तै लागेको थियो ।

युवती आक्रोशित भइन र जवाफ दिइन्, ‘के भन्दैहुनुहुन्छ ? उसले स्वेच्छाले आफ्नो जन्मभूमि त्यागेको थियो । तरवारको बलमा जसरी हामी मारिएका थियौं, उसलाई कसैले खेदेको थिएन। दुइटा कुरा कसरी एउटै हुन सक्छ ॽ

"इस्माइल जब आफ्नो देश छोड्दै थियो, उसकी पत्नी घरको भुइँमा रोइरहेकी थि, घरको छानोमा लौका छोड्दा उसको मुटु टुक्रिएको थियो । तै पनि तपाईं स्वेच्छाले देश छाडेको भन्न चाहनुहुन्छ ? अदृश्य तरवारले तिनीहरूलाई कसैले लखेटेको थिएन र ?

"उनीहरूलाई कसले लखेट्यो ?"

“इतिहासको षडयन्त्र, जुन गतिले इतिहासको गतिलाई यति धेरै दिनदेखि तय गर्दै आएको छ, त्यो जमिनदार र पुँजीपतिहरूले मुठ्ठीले निर्धारण गरेका छन् । इश्माइल जस्ताको जुन विरासतको हृदय र रगतले भूमिलाई सुनौलो बनाउँछ त्यसलाई किन भूमिको हक छैन? किन देश छोडनु पर्यो ? शोषण-प्रणालीलाई निरन्तरता दिने व्यवस्थाले दासहरूको सङ्ख्या बढ्दै गयो, पछि उनीहरूलाई कुकुर-बिराला जसरी हुद्दा हुद्दा लखेटियो । मातृभूमि छाडेर जाँदा इस्माइलकी श्रीमतीका आँखाबाट जुन आँसु झर्यो, त्यो आँसुको कुनै धर्म थिएन् । त्यो आँसु हिन्दू वा मुस्लिमका आँसु होइन थिए । "तिमीहरूले बिर्सेका छौ कि मुस्लिमहरूले हामीलाई धर्मको नाममा मातृभूमिबाट लखेटे । धनी र गरिब सबै हिन्दूहरूलाई नाटकीय यातना दिएर लखेटे । यस हिन्दुमेध यज्ञमा इस्माइल मुख्य थियो । जुन रगतले १९४७ मा ढाकाको राजपथ रंगिएको थियो, त्यो रगतको धर्म थियो भन्ने कुरा नबिर्सनु । त्यो हिन्दू धर्म थियो।

‘जुन रगतले दिल्लीको राजपथ रंगिएको थियो, त्यसको पनि धर्म–मुस्लिम धर्म हो । तपाईं नारी भएर रगत र आँसुको भिन्नता बुझ्नसक्नु भएको छैन ? आँसुको स्रोत हृदय हो, आँसुको स्रोत मानवता हो, आँसु स्वतः हृदयबाट प्रेरित हुन्छ। त्यसैले आँसु पवित्र र सत्य हुन्छ । तर रगत बाहिरी आघातबाट आउँछ, हिंसाबाट - त्यो भ्रष्ट र असत्य हो । भ्रष्ट र असत्य अधर्म हो।

युवती अहिले अनुत्तरित भइन् । मानौ अब प्रश्न सोध्ने पालो आफुमै थियो ।

"तैपनि तपाईंलाई न मुस्लिमहरूले लखेटेको हो, न साम्प्रदायिक उन्मादले; इतिहासको षड्यन्त्रले थपाईंहरुलाई लखेट्यो । केही समय अगाडि धर्मको नाममा तपाईंहरुलाई सताइएको थियो भनेर । तर धर्म भनेको के हो, थाहा छ ? इतिहासका हरेक युगमा समाजका कन्जुस जग्गाधनी र पुँजीपतिहरूले काल्पनिक स्वर्ग वा परलोकको प्रलोभन देखाएर करोडौं गरिब जनतालाई संसारका सबै सुखसुविधाबाट वञ्चित गरेका छन् । बाइबलले स्पष्ट रूपमा बताउँछ, गरीब मानिसहरू मात्र स्वर्ग जान सक्नेछन् भनेर । धनी वर्गको व्यवहार यस प्रकार छ– यदि तिमी नीच दासहरूले यस जीवनमा आफ्ना सबै सुख-सुविधा त्यागेर हाम्रो सेवा गर्यौ भने यसपछि स्वर्गमा मदिरा-मासु-वेश्‍याहरू लिएर अनन्तसम्म बस्न पाउनेछौ । किनकि गरिब र भिखारी मात्रै जान पाउने स्वर्ग धनी वर्गले किन रोजे, यो रहस्य आजसम्म कुनै विद्वानले खोलेका छैनन् । धर्म के हो थाहा छ ? एक समयको कुरा हो, पोपले आफ्नो दिवालियापनको सन्दूक भर्न धर्मको नाममा दलाली गरेका थिए, अर्थात् नगद पैसाको सट्टामा स्वर्गमा प्रवेश बेचेका थिए । इस्लामका अनुसार काफिरलाई अल्लाहको विश्वासी बनाउनुले पुण्य मिल्छ । अरूको उद्धारको लागि किन यति धेरै टाउको दुखाइ? अनि त्यो टाउको दुखाइको लागि शास्त्रमा पुण्यको लोभ किन देखाइन्छ? यसमा कुनै तर्क छैन, यो नवगठित अरब जातीय चेतना र अरब पुँजी-हितका विस्तारवादीहरूका लागी यो उपकारी हो । इस्लामको यही अनुशासनका कारण एक समय स्पेन, इन्डोनेसियासम्म तरवारको बलमा लाखौं काफिरहरूलाई अल्लाहको अनुयायी बनाएको थियो, यही पुण्यका लागि लाखौं गरिब सैनिकहरूले आफ्नो प्राणको आहुति दिएका थिए । यो दूर्भाग्यको साटो लाखौं अपरिचित सेनाले बहिश्त (स्वर्ग जस्तो सुक्खको स्थान)पाए वा पाएनन्, थाहा छैन, तर सम्राट अमीर-उम्राले यही जन्ममा बहिश्तको सुख पाएको प्रमाण इतिहासमा छ ।

हिन्दू धार्मिक विश्वास मा युगौंदेखिको स्वर्गको महिमाले यस जीवनमा गरिबीको नरकबाट करोडौं मानिस मुक्त हुन सक्छन्, तर त्यसको ढोकामा धर्मका पण्डा, स्वर्गका दलालहरू छन्, त्यसैले पूर्वी बङ्गालका मुस्लिमहरूले हिन्दूहरूको रगतले आफ्नो हात रंग्याएका थिए । वास्तविक कुरा थाहा छ ? इतिहासका नेताहरूले धर्मको मदिरा पिउन लगाएका थिए ! के एक स्वस्थ अवस्थामा कसैले सुत्केरी महिलालाई धर्मको मदिरा पिउनु बिना बलत्कार गर्न सक्छ? एकै सासमा लामो सुस्केरा हाल्दै टाउको उठाएर सलाई हेरें । सायद उसलाई सोध्ने अरू केही छैन, प्रतिवादको लागि कुनै तर्क बाँकी छैन ।

"इस्माइलको कथा सुन्नुहोस्, मैले फेरि सुरु गरें - उनिहरू आए र असमको जंगलमा नयाँ बस्तीहरू बसाउन थाले। जन्मदेखि मृत्युसम्म उनिहरूको जीवन प्रकृतिसँग निरन्तर संघर्षरत रह्यो । यिनीहरू यस धर्तीका बहादुर सन्तान हुन् । हरेक वर्ष ब्रह्मपुत्रको भीषण बाढीले तिनीहरूको हृदयको रगतले सृजित संसारलाई बगाएर लान्छ, फेरि नयाँ जोशका साथ तिनीहरूले त्यो संसारको सिर्जना गर्छन् । यसरी बाह्र वर्ष बित्यो । तर 1954 मा, प्रकृतिले तिनीहरूको विरुद्धमा नयाँ कौशलको सहारा लियो। ब्रह्मपुत्रको कटानका कारण हजारौं बिघा जमिन नदीमा डुबेको थियो । दुई वर्षमा इस्माइलहरूको गाउँ र खेत नदीमा विलय भयो । रूखमुनि शरण लिएर बसेका घरबारविहीन मानिसहरूलाई दानवले झैँ रोगले आक्रमण गर्‍यो। रोगले धेरैको ज्यान लग्यो । साथै इस्माइलकी श्रीमतीको मृत्यु भयो र १२ वर्षको छोराको पनि मृत्यु भयो। केही नाबालिग बच्चाहरू मात्र बाँचे... तपाईंले भर्खरै भन्नुभएको छ कि जीवनमा घटनाहरू जानीजानी हुँदैनन् । मानिसहरू वर्णन गर्दा आवेग, कल्पना र तर्कहरू थप्छन् । म त्यस्तो केहि भन्न चाहन्न। तर इस्माइलको लागि म अलिकति रुन चाहन्छु। माटोको कटानका कारण सबै गुमाएका इस्माइल गाउँका झण्डै सय जनाले सरकारसमक्ष जग्गाका लागि निवेदन दिएका थिए । उक्त निवेदनको कुनै प्रतिक्रिया आएको थिएन । तर घर बनाउनका लागि जग्गा थिएन । अन्तमा, तिनीहरूले आफ्नो जीवन बचाउनका लागि कानून तोड्ने निर्णय गरे - तिनीहरूले जबरजस्ती गौचरणको जग्गा कब्जा गर्न थाले। त्यही बेला म थिएटरमा प्रवेश गरेको थिएँ ।

"कसरी?" युवतीले सोधिन्।

‘सरकारी कर्मचारी भएकाले सरकारको संरक्षित क्षेत्रलाई इस्माइलजस्ता व्यक्तिको वेदखलबाट मुक्त गर्ने जिम्मेवारी मेरो काँधमा थियो । एक दिन मैले हतियारधारी सिपाही, अमीन र दश-बाह्र हात्ती लिएर इस्माइल र अरूहरू विरुद्ध युद्ध सुरु गरें। कानुन अनुसार हात्तीले कुल्चीएर घर भत्काउनुपर्थ्यो । गाउँको एक छेउमा हात्तीमा बसेर गाउँको पूरै दृश्य हेरिरहें । घाँस, झाडी बीचको केही झुपडीहरू सहितको खुला मैदान । ती सयौं झुपडीहरू र करुण अनुहारका निर्दोष आदिवासीहरू, उजाडस्थान र हावाको फुस्फुसमा चिहान बनिन लागेको विशाल पृष्ठभूमिमा उनिहरू मलाई यति असहाय र कमजोर देखिन लागे कि उनीहरूको आश्रय तोड्नुको सट्टा सबैलाई आफ्नो हृदयमा बसाएर राख्न मनलाग्यो । उनिहरूलाई अभय दान गर्ने इच्छा मन भित्र जाग्यो । तर निर्देश थियो, अचानक मैले घर तोड्ने आदेश दिएँ । दशवटा हात्तीले घरहरू तोड्न लागे । महिला र बालबालिकाहरु रुन थाले । उनिहरूको रोदन वतासले झन् झन् फैलायो । अचानक एकजना मानिस पागल जस्तै दौडेर मेरो छेउमा आयो । उसले आफ्ना दुवै हात आकाशतिर फैलायो र उच्च सोरमा भन्नथाल्यो, "अल्लाहसँग प्रार्थना गर्दछु, मेरो घर नभत्काउनुहोस्, मेरा दुवै बच्चाहरू प्लेग रोगबाट पीडित छन् । यो माघ महिनाको चिसोमा घर नहुँदा उनिहरू आज राती नै मर्नेछन् । यिनकी आमा मरिसकेकी छन्, हुजुर! जेठो दाजु मरिसकेको छ, धेरै दिन देखि पेटभरि खाना खान पनि पाएका छैनन् ।" मैले तुरुन्तै उसको घर नभत्काइ दिन आदेश दिएँ । तर उस्को घर भत्काइसकेको रहेछ ।

घर भत्किएको सुनेपछि इस्माइल भुइँबाट उठ्यो । एक्कासी उसको अनुहारमा असह्य पीडाको झलक झल्कियो, “खोदा, यसका लागि सारा संसार घुमे, देश छाडेर परदेश आएँ, श्रीमतीलाई महामारी(प्लेग)बाट बचाउन सकिन्, आज म विरामी छोरालाई मर्न अघि शिरमाथि निरापद ओतलाग्न समेत दिन सकिन । अदृश्य अल्लाहलाई उद्देश्य गरी यी कुराहरू भन्दै ऊ बिस्तारै मबाट टाढा भयो । मसँग भन्नु केही थिएन । त्यो मानिसको नाम र अन्य विवरणहरू लेखे । त्यसपछि घर र ढोका भत्काउने काम सकेर घर फर्किएँ ।

भोलिपल्ट बिहान उठेर बरामद(तलास)मा देखेको दृश्यले मलाई सताउँन थाल्यो । मेरो बरामदमा दुई बालबालिकाको शव थियो, दुवैको अनुहारमा प्लेगका दागहरू थिए । मलाई त्यो बुझ्न धेरै समय लागेन । म घर भत्काएर आएको त्यही रात इस्माईल छोराछोरीसहित गाउँबाट बेपत्ता भएको थाहा भयो । बच्चाहरूको खबर बिस्तारै सबैमा पुग्यो, तर आज पनि इस्माइलको बारेमा कसैलाई थाहा छैन। न त जान्ने इच्छा नै कसैको लागि रह्यो । तर मैले उसलाई खोज्नु छ । मानवताको नाममा मानव निर्मित क्रूर कानून र शासनको तर्फबाट मैले ऊसँग माफी माग्नुपर्छ। नत्र मरेपछि पनि शान्ति पाउँदिन ।

इस्माइलको कथा सकिएपछि म केही बेर चुपचाप बसेँ ।

युवतीबाट केही सुन्ने आशा थियो तर उनी पनि चुपचाप बसिन् । पुरै कोठा अँध्यारोले घेरिएको थियो ।

“तपाईंलाई बत्ती बाल्न मन लाग्दैन ?” मैले उनलाई सोधें । उनले जवाफ दिइनन्।

मैले बुझें, उनी घरमा बत्ती बालेर कुनै ग्राहकलाई बोलाउन चाहँदिनन्।

मैले इस्माइल खोज्नु पर्छ । मैले त्यो संकल्प घर-घरमा दोहोर्याएँ । तर फेरि अँध्यारोमा बसिरहेकी ती युवतीको विचारले मलाई सताउन थाल्यो । म एउटा मान्छेको पछि दौडिरहेको छु र ऊ पनि मान्छेको पछि दौडिरहेकी छन् । म इस्माइल खोज्न आएको थिएँ । बाटामा मैले यो वेश्या युवतीलाई भेटाएको थिएँ । इस्माइलको खबर खोज्दै थिएँ, अन्नदाशरण मुखर्जीको खबर भेटाएँ । तर अचम्मको कुरा, उनिहरू सबै उस्तै छन्, उनिहरू सबैको कथा एउटै छ। आफैले नबुझे पनि यथार्थमा सबै इतिहासका सिकार हुन् । यो युवतीलाई अँध्यारोमा एक्लै छोडेर, म कसरी इस्माइललाई मात्र खोजुँ ? अब अन्नदाशरण मुखर्जीलाई पनि खोज्नुपर्छ । थाहा छैन उनिहरूलाई कहिले फेला पार्ने र कसको खोजी जारी राख्ने ? संसारमा कडोरौं इस्माइल छन्, अन्नदाशरण खोज्ने शक्ति कसकोमा छ ? वास्तवमा, एक जनालाई चिनेर सबैको समाचार जान्न सकिन्छ । अब आवश्यकता छ मानवताका शत्रु खोजेर निकाल्नु । इस्माइल र अन्नदिशरणका शत्रुहरूलाई खोज्ने । पर्याप्त समय बितिसकेको थियो । म उठ्न खोजेर पनि मैले युवतीलाई फेरि सोधे, "बत्ती बाल्ने हो ?"

यसपटक पनि उनले कुनै जवाफ दिएनन्, न बत्ती बाल्ने उत्साह देखाइन् ।

मैले धारणा गरें कि मैले भनेको कथाले उनि नयाँ सोचमा डुबेकीछन् । खोजिरहेकी छन कि इस्माइल मानिस हो वा मुस्लिम ! इस्माइल शेखको खोजीमा उनि आफुमा हराइसकेकी छन् ।

(असमियाबाट हिन्दी अनुवाद- डा. भूपेन्द्र राय चौधरी)

  • नेपाली में अनुवादित : दूसरी भाषाओं से रचनाएँ
  • नेपाली कहानियां और लोक कथाएँ
  • मुख्य पृष्ठ : भारत के विभिन्न प्रदेशों, भाषाओं और विदेशी लोक कथाएं
  • मुख्य पृष्ठ : संपूर्ण हिंदी कहानियां, नाटक, उपन्यास और अन्य गद्य कृतियां