बाघको छाला : मुन्शी प्रेम चन्द
नेपाली अनुवाद : योगप्रसाद उपाध्याय चापागाईं, हाल काठमाण्डौं
राँचीदेखि चक्रधरपुरसम्म घोर जंगल छ । यसको लम्बाइ लगभग 75 माइल छ । यस जंगलमा विभिन्न किसिमका जीवजन्तुहरू बस्छन्, तीमध्ये बाघ सबैभन्दा डरलाग्दो जनावर । धेरै वर्षदेखि म र मेरो एक साथी राँचीको अफिसमा काम गर्थ्यौं। हामी दुवै चक्रधरपुरका बासिन्दा थियौँ । अफिसमा बिदा पर्दा हामी दुबैजना घर जान्थ्यौं । त्यहाँ मोटर पनि चल्थिए ।
एकपटक हामी दुवैजना महत्त्वपूर्ण कामको लागि घर जानुपरेको थियो । संयोगवश त्यो दिन मोटर पनि भेटिएन । आखिर, साईकलको पेडेल मारेर जाने निर्णय गरेका थियौं । बीचमा कतै नबस्ने हो भने नौ–दश घण्टामा पुगिन्छ । केही खानेकुरा लिएर हामी दुबै जना साइकलमा चढ्यौँ र साँझ ६ बजे निस्कियौँ ।
उज्यालो रात थियो । एक माइल बितेपछि जून पनि झुल्कियो । नजिकैका पहाडहरू देखिए । चारैतिर सुनसान थियो, हाम्रो साइकल पेडल मारेको जोडमा गुडदै थियो, मौन अँध्यारोलाई चिथोर्दै । केही दूरीमा जंगली मानिसहरूको बस्ती थियो । तिनीहरूको झोपडीबाट ढोल र बाँसुरीको मीठो धून गुञ्जिरहेको थियो । दुवैजना यस्को मजा लिइरहेका थियौं ।
अचानक मेरो साथी साइकलबाट लड्यो । उस्को त्यो अवस्था देखेर म दुखित भएँ । उसलाई हैजा लागेछ, अब के गरुँ, कसो गरुँ ॽ न बस्ती, न गाउँ, कहाँ लैजाउँ ? केही उपाए चलेन । मैले उसलाई नाम काडेर बोलाएँ, तर उसको मुखबाट कुनै बोली निस्केन । उसले करुण आँखाले मलाई हेर्यो । उसको अवस्था देखेर मलाई रुन आएछ । त्यसपछि सोचें, रोएर के हुने हो र, हेरौँ यहाँ नजिकै गाउँ छ कि ॽ सायद कसैले केही सहयोग पुर्याउन सक्छन कि ॽ मैले साथीलाई फेरि सोधें, भाइ तिम्रो अवस्था कस्तो छ ॽ केहि त भन्, तर ऊ बोल्न सकेको थिएन् । मैले उसको नाडी छामें, नाडी चलेको थाहा लागेन, हो, सास चाहीँ फेर्दै थियो ! मैले सोचें, यस्तो अवस्थामा कसरी एक्लै छोड्नु ? जङ्गली जनावर आए भने लाशको पनि पत्तो नहोला । मैले दुबै पेडल साइकल एउटा रुखमा अढ्याएँ र साथीलाई त्यसमा सुताएर कुनै गाउँ खोज्न निस्किएँ । बाटोमा मैले साथीका बारेमा बारम्बार सोचिरहेँ । चारैतिर घना जंगल, जूनको उज्यालोमा पनि रुखमुनिको बाटो अँध्यारोले छेकेको । बाटो देखिएन । एक्कासी ढुंगामा ठोक्किएर ढलेँ । ठूलो चोट त लागेको थिएन, तर हात खुट्टाको छाला पिल्सिएको थियो । म फेरि उठेँ, एक्कासी सोरल्याङग आवाज आयो र पछि फर्केर हेरें । मबाट १५ गजको दुरीमा बाघ उभिरहेको रहेछ । म लल्याक-लुलुक भएँ । शरीरमा रगत नै नभए जस्तो लाग्यो । सास रोकियो । मलाई उभिएको देखेर ऊ पनि रोकियो । मलाई लाग्यो कि सायद म झुक्किएको होला, सायद रुखको छायाँलाई बाघ सम्झिरहेको छु । यस्तै सोच्दै म फेरि अगाडि बढें तर मेरा आँखा चाहीँ पछाडि फर्केर हेरिरहेका थिए । पातको सरल्याङ आवाज सुनियो । मैले फेरी फर्केर हेरें । बाघले मलाई पछ्याइरहेको रहेछ । मेरो शरीरको रौंहरू काँडा जसरी अम्रिए, म मुडो जस्तै भएँछु । ममा केही सोच्ने शक्ति थिएन । बाघ मलाई उभिएको देखेर हात खुट्टा फैलाएर भुइँमा बस्यो । मलाई अब जीवनको कुनै आशा रहेन । मसँग न पेस्तोल थियो न चक्कु । मेरो होसथिएन, म उच्च सोरले चिच्याएँ । मेरो आवाज सुनेर बाघ उठ्यो र चुपचाप जङ्गलतिर लाग्यो ।
बाघ देखेर म धेरै खुसी भएँ के भन्नू। मेरो हिम्मत पनि फर्कियो । म सोच्न थालेँ, घर पुगेपछि यो कथा सबैलाई सुनाउँछु र भन्छु कि यदि कोही बाघको अगाडि यसरी पर्यो भने बेस्सरी चिच्याउनु । यही सोच्दै म छिटछिटो हिँडन लागें ।
थोरै टाढा गएको थिएँ कि फेरि केही आवाज आयो । अगाडि बाघ देखा पर्यो ! मेरो बुझाइमा मैले बाघलाई भगाउने मन्त्र भेट्टाएको थिएँ । म चिच्याउन लागें । तर अहिले बाघ हटदै हटेन । मबाट आठ दश गज टाढा उभिएको बाघ पुच्छर हल्लाउन थाल्यो । अहिले मैले हिम्मत हारेको छु । कति बेर त्यहाँ उभिरहेँ भन्न सकदिन ! एक्कासी कानमा मोटरको हर्नको आवाज आयो । त्यसपछि सोचे, सायद यो पनि भ्रम हो । तैपनि ममा थोरै साहस थियो । म बिस्तारै पछि हट्न थालें । आठ-दश पाइला पछि हटेको थिएँ कि अचानक बाघले झम्टिने सुर गर्यो । मेरो हंसले डाँडो काट्यो । यति मात्रै हो, त्यसले मलाई झम्टियो ! मैले आँखा बन्द गरें र दुबै हातले मेरो टाउको समातें । तर बाघले मलाई कोपरेन, तर म जति पछि हटेको थिएँ, उ त्यति अगाडि बढ्यो र फेरि बस्यो ।
त्यसपछि हर्नको आवाज सुनियो। सायद राँचीबाट लोहोरी आउँदै थियो । त्यसपछि के भयो मलाई थाहा भएन । मलाई यति याद छ कि म एक पटक ठूलो सोरले चिच्याएँको छु - मार्यो मार्यो !
जब मेरो होश आयो, मेरो टाउको कसैको तिघ्रामा थियो र वरपर धेरै मानिसहरू उभिएका थिए । मेरो साथी पनि त्यहीँ थियो । मैले पानी मागे, उसले तातो दुध निकालेर मलाई पिउन दियो ।
पछि थाहा भयो, यी इन्जिनियर साहब हुन्, तीन चारजना साथीसँग टाटानगर जाँदै रहेछन । बाटामा रुखमुनि दुई आँखा चम्किरहेको जस्तो देखेर बाघ सम्झेर उनले बन्दुक उठाएछन । एक्कासी मोटरको बत्ती त्यसमाथि परेपछि उनले आँखा होइन दुईवटा पेडलसाइकलको बत्ती बलिरहेको देखेछन । उनले मोटर रोकेर रुखमुनि पुगेछन्, त्यहाँ एकजना मानिस बेहोस देखे देखेछन् । उनीसँग केही औषधिहरू रहेछन । औषधि खाएपछि मानिसको अवस्था सुधार भएछ । उनले उसलाई मोटरमा चडाएर आउदै गर्दा उनले मेरो छातीमा दुबै पञ्जा राखेर बाघ बसिरहेको देखेछन् । मोटर नजिक आएको देखेर बाघले मलाई छोडेर दौडिन थालेछ तर इन्जिनियरले बन्दुकले त्यसलाई निशाना गरिहालेछन् ।
उनको सहयोगमा हामी दुवै घर पुग्यौं । मेरा सबै लुगा रगतले भिजेका थिए । छातीमा घाउ थियो । धेरै दिनको मलम पट्टी गरेपछि म निको भएर राँची फर्किएँ । केही दिनपछि इन्जिनियर साहबले त्यहि बाघको छाला भनेर चिठ्ठी लेखेर मलाई बाघको छाला पठाएछन् ।
त्यो छाला अझै मसँग छ।